Uncategorized

सिराहा वडा नं. ७ मा निष्क्रिय नाला: लाखौं खर्च, समस्या यथावत

Spread the love

सिराहा नगरपालिका वडा नं. ७ मा लाखौं रुपैयाँ बजेट खर्च गरेर निर्माण गरिएको नाला अहिले प्रयोगविहीन बनेको छ। गत वर्ष निर्माण सम्पन्न भएको यो नाला न त वर्षातको पानी निकास गर्न सक्षम छ, न त यसको मर्मत वा सरसफाइमा कुनै चासो देखाइएको छ।

स्थानीयवासीहरू भन्छन्— “हामीले पटक–पटक वडाध्यक्ष विनोद यादवलाई ध्यानाकर्षण गरायौं। तर अहिलेसम्म न त जेसीबी पठाइयो, न त सफाइ नै गरियो। नालाबाट पानी बग्दैन, उल्टै पानी घरमै जमिन्छ।”

यो समस्या वर्षायाम सुरु भएसँगै थप चर्किएको छ। पानीको निकास नहुँदा स्थानीयको घरभित्रै पानी पसेको छ। साना बालबालिका र वृद्धवृद्धालाई यो अवस्था झनै पीडादायी बनेको छ। सडकमा हिलो र दुर्गन्धले सर्वसाधारणको आवतजावतसमेत कठिन बनेको छ।

नाला किन बनाइयो — समाधानका लागि कि कमिसनका लागि?

जनतामा प्रश्न उठ्न थालेको छ — “जनताको करबाट निर्माण भएको यो नाला के वास्तवमै समस्या समाधान गर्न बनाइएको हो? वा केवल बजेट सकाउन र कमिसन खानकै लागि?” उनीहरू भन्छन् कि नाला बनेको एक वर्ष नपुग्दै बेकार हुनु गम्भीर प्रश्नको विषय हो।

वडाको चुप्पी चिन्ताजनक

स्थानीयहरूका अनुसार वडाले हालसम्म कुनै आधिकारिक जवाफ दिएको छैन, न त समाधानका लागि पहल गरिएको छ। यस्तो स्थितिमा जनताले सरोकारवालासँग तत्काल ध्यान दिन र जिम्मेवार बन्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *