अनेरास्ववियुको २४औं महाधिवेशनमा अञ्जना शिवाकोटीको अध्यक्ष पदमा दमदार दाबी
काठमाडौं, जेठ २१
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा संगठनको शीर्ष नेतृत्वका लागि दौड तीव्र बनेको छ। अध्यक्ष पदका लागि विभिन्न आकांक्षीहरूको नाम चर्चामा रहे पनि मधेशकी युवा नेतृ अञ्जना शिवाकोटी बलियो दावेदारको रूपमा अगाडि आएकी छन्।
मधेशकी नेतृ, केन्द्रीय नेतृत्वको दाबी
सर्लाही स्थायी ठेगाना भएकी शिवाकोटी हाल अनेरास्ववियुकी केन्द्रीय सचिव र मधेश प्रदेश इन्चार्जको जिम्मेवारीमा कार्यरत छिन्। मधेशको जटिल सामाजिक–राजनीतिक परिस्थिति र समावेशी जनसंख्याबीच अनेरास्ववियुको संगठन विस्तारमा उनले निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको छ। हालै सम्पन्न स्ववियु निर्वाचनमा मधेश प्रदेशमा अनेरास्ववियुले अग्रता हासिल गर्नुमा उनको नेतृत्वलाई प्रमुख कारण मानिएको छ।
उमेरहद र संगठन संरचनाले नयाँ नेतृत्व माग्यो
नयाँ कार्यविधिअनुसार अध्यक्ष पदका उम्मेदवारको अधिकतम उमेर सीमा ३२ वर्ष निर्धारण गरिएको छ। सो सन्दर्भमा संगठनात्मक अनुभव, समावेशीता र वैचारिक प्रतिबद्धता राख्ने नयाँ पुस्ताका पात्रहरूको आवश्यकता महसुस गरिएको छ। अनेरास्ववियुका अघिल्ला तीन महिला अध्यक्षहरू—रामकुमारी झाँक्री, नविना लामा र सुनीता बराल—पछि अञ्जना चौथो महिला अध्यक्ष बन्ने सम्भावनामा उभिएकी छन्।
शक्तिशाली पृष्ठभूमि: खेलकुद, संगठन र संघर्ष
शिवाकोटी केवल संगठनमा सीमित छैनन्। उनी अन्तर्राष्ट्रिय स्तरकी तेक्वान्डो खेलाडी समेत हुन्। विद्यार्थी आन्दोलनदेखि संगठन विस्तार र वैचारिक प्रशिक्षणसम्म निरन्तर सक्रिय रहँदै आएकी अञ्जना पहाड मूलकी नेपाली भाषी भए पनि मधेशमा गहिरो प्रभाव राख्ने नेतृको रूपमा स्थापित भएकी छन्।
उनको यही बहुआयामिक पृष्ठभूमिले उनलाई अन्य आकांक्षीहरू भन्दा फरक र शक्तिशाली उम्मेदवार बनाएको बताइन्छ।
पार्टी नेतृत्वको विश्वास र ‘जानकी’ प्रस्तावसँग सहसम्बन्ध
नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समेत अञ्जनाको कार्यशैलीबाट सन्तुष्ट रहेको स्रोतहरूले जनाएका छन्। ओली नेतृत्वले अघि सारेको ‘जानकी प्रदेश’ नामकरण सन्दर्भमा अञ्जनाको उपस्थितिले महिला–मैत्री, मधेश–मैत्री र समावेशी सन्देश दिन सहयोग पुग्ने विश्लेषण गरिएको छ। यसले पार्टीभित्र समेत उनको उम्मेदवारीप्रति सकारात्मक धारणा बनाएको बुझिएको छ।
नयाँ ढाँचा र समावेशी नेतृत्वको अपेक्षा
अनेरास्ववियुको नयाँ संरचनाअनुसार अध्यक्षसहित ९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ। यस्तो संरचनामा महिला, मधेश, जनजाति, पहाड, थारु लगायत क्षेत्रीय र सामाजिक समावेशीताको सन्तुलन सुनिश्चित गर्नु अपरिहार्य छ। त्यसकारण पनि शिवाकोटीको उम्मेदवारीलाई गम्भीरतापूर्वक लिइएको छ।
महाधिवेशनको कार्यक्रम
२४औं महाधिवेशन जेठ २५ गतेदेखि २८ गतेसम्म कीर्तिपुर, काठमाडौंमा आयोजना हुने तय भएको छ। उद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य रहनेछ। अधिवेशनमा १५०० भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ। अधिवेशनकै अन्तिम दिन नयाँ नेतृत्व चयन गरिनेछ।
अञ्जना शिवाकोटीको १० बुँदे अभियान एजेन्डा
अध्यक्ष पदका लागि उम्मेदवारी अघि सारेकी अञ्जनाले आफ्नो अभियान र नेतृत्व दृष्टिकोणका रूपमा १० बुँदे योजना सार्वजनिक गरेकी छन्। ती बुँदाहरू यसप्रकार छन्:
१. विद्यार्थी सहुलियत सुनिश्चितता:
हाल कायम रहेको ४५% विद्यार्थी सहुलियतलाई सबै सार्वजनिक यातायातमा अनिवार्य र निशर्त रूपमा लागू गराउने।
२. शिक्षण संस्थाको राजनीतिक स्वच्छता:
विश्वविद्यालयहरूलाई दलिय हस्तक्षेप, दादागिरी, र अराजकता मुक्त बनाउने अभियान सञ्चालन गर्ने।
३. शिक्षा प्रणाली पुनर्संरचना:
विश्वविद्यालयहरूलाई नीतिगत, संरचनात्मक, कार्यक्रमगत र पाठ्यक्रमगत पुनर्संरचनाका लागि दबाबमूलक रचनात्मक आन्दोलन।
४. विदेश पलायन रोक्ने शिक्षा सुधार:
नेपालमै सिप, ज्ञान र करियर सुनिश्चित गर्न सक्ने शिक्षाको विकास र त्यसका लागि नीतिगत पहल।
५. सार्वजनिक शिक्षामा लगानी:
सरकारले सार्वजनिक शिक्षामा कुल बजेटको कम्तीमा २०% सुनिश्चित गर्नुपर्ने मागसहित अभियान।
६. Z-पुस्ता केन्द्रित आन्दोलन:
नयाँ पुस्ताका विद्यार्थीहरूका लागि उनीहरूको भाषा र शैलीमा ‘आफ्नै आन्दोलन’ निर्माण गर्ने।
७. संगठन विस्तार र रुपान्तरण:
अनेरास्ववियुलाई सबै शिक्षण संस्थामा विस्तार गर्दै नयाँ संरचनात्मक स्वरूप दिने।
८. राष्ट्रभक्त नेतृत्व निर्माण:
जागरुक, इमान्दार, राष्ट्र–सचेत नयाँ पुस्ताको उत्पादन, जसले पपुलिज्म, अतिवाद र पतनलाई परास्त गर्न सकोस्।
९. अनुशासन र उत्पादनमुखी संगठन:
अराजकता, अनुशासनहीनता र अनुत्पादक कार्यशैलीलाई अन्त्य गर्दै उत्तरदायी संगठन निर्माण।
१०. बहुदलीय जनवाद र समृद्ध राष्ट्रका लागि तयारी:
जनताको बहुदलीय जनवादको आधारमा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा टेवा पुर्याउने लाखौं विद्यार्थीको पंक्ति निर्माण।
शिवाकोटीको भनाइ
“म महिला नेतृको हैसियतमा मात्र होइन, सशक्त नेतृत्व दिन सक्ने क्षमताका आधारमा अध्यक्ष बन्न चाहन्छु,” अञ्जनाले बताएकी छन्।