एमालेमा विद्यादेवी धमकेदार इन्ट्रिको तयारीमा, के गर्लान ओली ?
एमालेको नेतृत्वमा आउन प्रयास थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता मात्रै बढाएकी छैनन्, उनले सार्वजनिक रुपमै अध्यक्षमा आफू आउँदा अनेक तर्कहरु उठ्न सक्ने भनेकी छन् । निर्वाचनमार्फत कमिटी चयन गर्ने एमाले देखिएको सुनसान वातावरण पछिल्लो समय भत्किएको छ भने भण्डारीले अर्थपूर्ण सक्रियता बढाएकी छन् । यस्तोमा वामपन्थी एकतादेखि विभिन्न विषय चर्चामा आउन थालेका हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको उपाध्यक्ष बनिन् । एमाले उपाध्यक्षसम्म बनेकी उनले दुई कार्यकाल राष्ट्रपतिको पद सम्हालिन् र अहिले राजनितिक दौडधुपलाई तीब्र पार्दै मैदानमा उत्रिएकी छन् ।
सक्रिय राजनीतिमा आउने भण्डारीको चाहनामा एमालेभित्रैबाट ठूलो पंक्तिले जोड गरिरहेको छ । भण्डारीको सक्रियतामाथि प्रश्न उठिरहेको बेला एमाले नेता कार्यकर्ता भेट्दा इजाजत लिन नपर्ने भन्दै कडा शब्दमा आपत्ति जनाएकी छन् । तर, एमाले अध्यक्ष केपी ओली भने को नेतृत्वमा आउने भन्ने विषयका हल्ला र चर्चालाई अस्वीकार गर्दै निस्तेज पार्न निर्देशन दिनेमा अग्रसर देखिन्छन् ।
ओलीले विद्यार्थी संगठन अनेरास्ववियुको सम्मेलनलाई सम्बोधन गर्दै एमालेको बचाउ मात्रै गरेनन् । नेतृत्वविरुद्ध हुने कुनै पनि कुराको जमेर प्रतिवाद गर्न समेत भने । तर, त्यसको केहि दिनमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्षमा आफू आउनेदेखि ओलीले बोलेका कुराको खण्डन गरिन् ।
भण्डारीलाई वामपन्थी एकताका लागि सहज पात्रको रुपमा समेत अघि सार्न खोजिएको छ । उनले चीन भ्रमणमा समेत नेपाली वामपन्थी आन्दोलनलाई एकीकृत पार्ने गरि सन्देश बोकेर फर्किएको उनीसंगै भ्रमणमा गएका नेताहरुले सार्वजनिक रुपमै भन्ने गरेका छन् ।
यस्तो स्थिति बढिरहेको बेला भण्डारीले पनि वामपन्थी एकता तत्काल सम्भव नरहेको भन्दै गम्भीर विषयको बहस छेडिदिएकी छन् । भण्डारीले आफू राष्ट्रपति हुँदा कांग्रेसले मत नदिएको मात्रै भनेकी छैनन्, माओवादी लगायतका दलले मत दिएको र कांग्रेसले हार्ने निश्चित हुँदा पनि आफूलाई मत नदिएको भन्दै उनले कांग्रेस एमालेको सत्ता गठबन्धनलाई समेत प्रहार गरेकी छन् ।
राजनीतिक रुपमा भण्डारीले अब आफू सक्रिय बनिसकेको सन्देश प्रवाह गरिरहेको बेला यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत एकता, सहकार्यबारे बोलिरहेका छन् । वामपन्थी एकता, सहकार्यलाई कोट्याउदै प्रचण्डले विप्लव र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसंग पार्टीको एकताको कुरा भइरहेको र ८४ मा एक नंवरको पार्टी बन्ने भनेका छन् ।
वामपन्थी एकताको सुत्राधारको रुपमा विद्यादेवी भण्डारीलाई अघि सार्ने काम चलिरहनु र भण्डारीले सार्वजनिक रुपमै पार्टी अध्यक्षको जिम्मेवारीमा आउने प्रष्ट संकेत गर्नुले अबको एमालेभित्रको राजनीति रोचक बन्ने संकेत देखा पर्न थालेको छ ।
निर्वाचन वा सहमति भन्नेमा लफडा
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली चुनाव गराउन चाहन्नन् । सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिन्छन र आफूले भनेका नेतालाई पदस्थापन गर्न चाहन्छन् । यो अघिल्लो महाधिवेशनमा प्रष्टै देखियो चुनाव भन्ने भीम रावल हुन् वा घनश्याम भुसाल नै, उनीहरु किनारामा छन् ।
घनश्याम त नेकपा एसको महासचिव नै छन् । यसरी चुनाव चाहनेमाथि कडा डण्डा चलाउने गरेका ओली पछिल्लो समय भने संकटमा फस्दै गएका छन् । राष्ट्रिय युवा संघको निर्वाचनमा ठूलो धाँधली भएको भन्ने गरिन्छ । ओलीले क्षितिज थेवेलाई अध्यक्ष बनाउन शक्ति प्रयोग गरेको समेत आरोप लगाउने गरिन्छ ।
अध्यक्षमा सुमन पुरीलाई थेवेले १९८ मतले पराजित गरेको विषयमा पनि फर्जी मतको कमाल भन्ने हल्ला चलिरहेको छ । अनेरास्ववियूमा अध्यक्ष ओलीले हस्तक्षेप गर्न खोजेका छन् ।
सर्वसम्मत बनाउने भन्दै अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दिपक धामीको नाम प्रस्ताव गरेपछि नाराबाजी चल्यो । होहल्ला र चुनावको चर्को मागपछि स्थिति फेरिन पुग्यो । यस्ताक्रम चलिरहेका छन् । नेतृत्वमा ओलीले भनेको जस्तो सर्वसम्मति हुन सकेको छैन ।
जसमा भण्डारी निकटका नेताहरुले चुनावको माग गर्दै ओलीलाई धक्का दिइरहेका छन् । यसले पनि एमालेमा ओली युगमा गम्भीर प्रश्न खडा गरिदिएको भन्न थालिएको छ ।