बालेनलाई महासंकट, सबै मिलेर पेल्दा कक्रक्कै !
भारतीय फिल्म ‘नायक’का शिवाजी रावजस्तै राजनीतिमा उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अहिले गम्भीर संकटमा परेका छन् । जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादका कारण उनी नेतृत्वको देशकै सबैभन्दा ठूलो महानगर जटिल परिस्थितितर्फ अग्रसर छ । मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरूबीच बढ्दो मतभेद र मनमुटावका कारण प्रशासनिक कामकाज महिनौँदेखि प्रभावित हुँदै आएको छ ।
एकातिर बालेन उपमेयर, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको घेराबन्दीमा परेका छन् भने अर्कातिर संघिय सरकारको समेत उनलाई असहयोग गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वंय र सिंगो एमाले नै बालेनविरुद्ध लाग्दै आएको छ । अर्कोतिर उनका निकट सहयोगी नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परे बालेन झनै संटकमा फसेका छन् ।
नियम अनुसार कार्यपालिकाको बैठक हरेक महिनामा एकपटक बस्नुपर्ने हो । विगतमा यो प्रक्रिया नियमित रूपमा चल्दै आए पनि पछिल्ला छ महिनादेखि मेयर, उपमेयर र वडाध्यक्षहरूबीचको द्वन्द्वका कारण बैठक बस्न सकेको छैन । यसको प्रत्यक्ष असर सेवा प्रवाह, विकास निर्माण र नीतिगत निर्णयमा देखिएको छ ।
लामो समयदेखि कार्यपालिका बैठक नबस्दा बजेट निर्माणसम्बन्धी प्राथमिकताहरूमा समेत छलफल हुन सकेको छैन । जसले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटसमेत अन्योलमा पारेको छ । बजेट नै अन्योलमा परेपछि वडाध्यक्षहरूले मेयर बालेनलाई कार्यपालिका र नगरसभा बैठक यथाशिघ्र बोलाउन दबाब दिँदै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठले समेत सोही माग दोहोराएकी छन्, जसले बालेनमाथि थप राजनीतिक र नैतिक दबाब सिर्जना गरेको छ ।
बजेट प्रस्तुत गर्न असार १० गतेभित्र नीति तथा कार्यक्रम र असार १५ भित्र बजेट पास गरिनु कानुनी बाध्यता छ । तर, मेयर बालेनले कार्यपालिका बैठक नै नबोलाउँदा यी सम्पूर्ण प्रक्रिया अलपत्र परेका छन् । बैठक बोलाउने र अध्यक्षता गर्ने अधिकार मेयरको भए पनि उनले किन बैठक नबोलाएको भन्नेबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
नगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले छ महिनाका लागि निलम्बन गरेपछि बालेनको प्रशासनिक पकड कमजोर भएको छ । पाण्डे बालेनका विश्वासपात्र मानिन्थे, त्यसैले उनको निलम्बनले मेयरको प्रभाव र नियन्त्रण क्षीण भएको सन्देश दिएको छ । महानगरभित्रको यो आन्तरिक विवादका कारण फोहोर व्यवस्थापन, सडक मर्मत, सार्वजनिक यातायात, सामुदायिक सेवा जस्ता जनजीवनसँग जोडिएका काम प्रभावित भइरहेका छन् ।
मेयर बालेनको आगमनसँगै काठमाडौंवासीमा ठूलो आशा जागेको थियो । परम्परागत राजनीतिबाट पृथक देखिने उनको शैली, सुधारवादी सोच र सक्रियताले सुरुवातमा व्यापक प्रशंसा पनि पायो । सडक अतिक्रमण हटाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने र शहरको सौन्दर्यीकरणका प्रयासहरू उल्लेखनीय मानिए । तर, अहिले उनी नायकबाट खलनायक बन्न थालेको टिकाटिप्पणी सुरु हुन थालेको छ । उनीबाट सहकर्मी, कर्मचारी र स्थानीय सरोकारवालाहरू टाढा भइसकेका छन् भने निर्णय प्रक्रियामा पारदर्शिता र सहकार्यमा पनि चुक्न थालेका छन् ।
काठमाडौं महानगरपालिकामा देखिएको यो संकटले स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । अब, मेयर बालेनले यो संकट समाधान गर्न कसरी अगाडि बढ्छन् भन्ने कुराले उनको नेतृत्व क्षमता र राजनीतिक भविष्य कता मोडिन्छ भन्ने निर्धारण गर्नेछ ।