जिल्लाको राजनीतिक नेतृत्वप्रति युवाको प्रश्न : सेवकलाई शासक बनाउने प्रवृत्तिले विकास अवरुद्ध

प्रदेश मधेस राजनीति सबै

सिराहा — जिल्लाको राजनीतिक नेतृत्व, सुशासन र युवा सहभागिताको विषयलाई लिएर समाजसेवी तथा युवा नेता अरविन्द यादवले वर्तमान राजनीतिक संस्कारमाथि गम्भीर प्रश्न उठाएका छन्।

यादवले जिल्लाका राजनीतिक दल र तिनका नेतृत्वकर्ताहरूले “यो जिल्ला हाम्रो हो” भन्ने जिम्मेवारीबोध, साहस र दूरदृष्टिको अभाव देखाएको आरोप लगाएका छन्। उनका अनुसार जनताको सेवकका रूपमा रहनुपर्ने व्यक्ति र संयन्त्रलाई शासकका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति जिल्लाको नेतृत्व तहबाटै मौलाएको छ, जसले जनतामाथि अपहेलना, दुर्व्यवहार, भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको छ।

“जबसम्म राजनीतिक दलहरूको नेतृत्वमा इमानदार, उत्तरदायी, दूरदर्शी र जनविश्वास जित्न सक्ने व्यक्तित्वहरू स्थापित हुँदैनन्, तबसम्म जिल्लाको समग्र विकास सम्भव छैन,” यादवले बताएका छन्।

उनले जिल्लाको अविकासको एउटा प्रमुख कारण पुरानो पुस्ताको राजनीतिक वर्चस्व रहेको उल्लेख गर्दै नयाँ पुस्ताका शिक्षित र सक्षम युवाहरूलाई राजनीतिमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। यादवका अनुसार पुस्तौंदेखि राजनीतिक लाभ लिइरहेका केही पात्रहरूले नयाँ नेतृत्वको उदयलाई रोक्ने प्रयास गरिरहेका छन्, जसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको छ।

वृद्ध पुस्ताको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले समाज रूपान्तरण, सुशासन र उत्तरदायी शासन व्यवस्थाका लागि युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।

यादवले राजनीतिप्रति नकारात्मक दृष्टिकोण राख्ने युवाहरूलाई पनि आफ्नो सोच परिवर्तन गरी परिवर्तनको माध्यमका रूपमा राजनीतिलाई अपनाउन आग्रह गरेका छन्। उनका अनुसार भ्रष्ट नोकरशाही र अनुत्तरदायी राजनीतिक संस्कृतिको अन्त्य गर्न युवाशक्तिको हस्तक्षेप आवश्यक छ।

“राजनीति सबै नीतिको मूल नीति हो। त्यसैले राजनीतिक प्रणालीको शुद्धीकरण र सुधारको अभियानमा युवाहरू अग्रसर हुनुपर्छ,” यादवले भने।

उनले वर्तमान अवस्थामा अधिकांश राजनीतिक दलहरूको नेतृत्वमा नैतिकताको संकट देखिएको उल्लेख गर्दै सभ्य समाज निर्माण, सुशासनको स्थापना र विकासको नयाँ आधार तयार गर्न युवापुस्ताको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *