बारा । जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा कालोमोसो छ्यापिएको छ ।जनसंवाद यात्रामा रहेकाबेला बारा जिल्लाको गढीमाई नगरपालिका–३ दहियाचोकमा बिहान ११ बजे जनमतका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उनीमाथि कालोमोसो छ्यापिएको हो ।
निलम्बित उपाध्यक्ष साहको नेतृत्वमा शुक्रबारदेखि जनमतको नेतृत्वबाट असन्तुष्ट पक्षले रौतहटमा जनसंवाद यात्रा सुरु गरेको छ ।सोही यात्रामा रहेको बेला पार्टी अध्यक्ष डा. सिके राउतको निर्देशनमा सिंहले आफूमाथि मोसो छ्यापेको साहको आरोप छ ।मोसो छ्यापिएपछि उनले भनेका छन्–‘जन संवाद यात्राको क्रममा खाना खाएर निस्केको थिएँ ।
सोही क्रममा अध्यक्ष राउतका निकट विकास सिंहको नेतृत्वमा ममाथि कालोमोसो छ्यापियो । हामीले संवाद यात्रा थालेपछि बाहिरी ननिस्किन निरन्तर अध्यक्ष निकटबाट धम्की आइरहेको छ ।’निलम्बित कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारको अगुवाइमा पार्टी र पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो र सुदृढ बनाउन अन्तरसंघर्षको रुपमा ‘जनसम्वाद यात्रा’ रौतहतबाट सुरु गरिएको उनीहरुको भनाई छ ।
