सिराहा | बरियारपट्टि गाउँपालिका श्रीपुर घर भएका सत्यनारायण साफीले ज्याला मजदुरी गर्दै अध्ययनलाई निरन्तरता दिँदै पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएका छन्। कठिन आर्थिक अवस्थाबीच पनि उच्च शिक्षा हासिल गर्ने उनको संघर्ष र सफलताले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
यस उपलब्धिलाई कदर गर्दै बरियारपट्टि गाउँपालिका अध्यक्ष पदका प्रत्याशी उपेन्द्र यादव लगायत नेपाली कांग्रेस सिराहाका सभापति रामचन्द्र यादवले साफीलाई आर्थिक सहयोग प्रदान गरेका छन्। साथै, भविष्यमा अध्ययन वा अन्य आवश्यकताका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेमा पूर्णरूपमा साथ दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उपेन्द्र यादवले भने, “सत्यनारायण साफीजस्ता मेहनती र संघर्षशील विद्यार्थी नै समाजको वास्तविक पूँजी हुन्। उनको सफलताले अन्य युवालाई पनि प्रेरणा दिनेछ। आवश्यक परेमा आगामी दिनमा पनि निरन्तर सहयोग रहनेछ।”
स्थानीयवासी र सामाजिक अगुवाहरूले पनि साफीको सफलतालाई उदाहरणीय भन्दै प्रशंसा गरेका छन्। सीमित स्रोतसाधनका बाबजुद कडा परिश्रम र आत्मविश्वासका बलमा एमबीबीएस जस्तो प्रतिष्ठित विषयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्नु युवापुस्ताका लागि प्रेरणादायी उपलब्धि भएको उनीहरूको भनाइ छ।
सत्यनारायण साफीले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो लक्ष्य समाजसेवामुखी चिकित्सक बन्ने रहेको बताएका छन्।
