कारागार कार्यालय सिरहामा गत बुधबार विवाद भयो । विवादले झडपको रूप लिँदा २० जना बढी घाइते भए । घाइतेमध्ये ३ जनालाई उपचारका लागि बाहिर ल्याइयो ।
जसमध्ये १ एक गम्भीर घाइते छन् । उनको विराटनगरमा उपचार भइरहेको छ । उनलाई २५ वटा टाका लागेको छ भने बाँकी २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ ।
हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३५ सय उपलब्ध गराउने गर्छ भने हरेक महिना २४ सय दिने गर्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको भन्दै आफूहरूले आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूको आरोप छ ।
यसकारण यो घटना सिरहाका प्रशासन र सरोकारवालाका लागि लाजको र फस्ने विषय बनेको छ । त्यसैले अन्य घाइतेलाई कारागारभित्रै सामान्य उपचार गरि घटनालाई ढाकछोप गर्ने प्रयास जारी छ ।
घटनामा संलग्नलाई कारवाहीको साटो चौकिदारमाथि कारागारमा हस्तक्षेप भइरहेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सिरहाले शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्र नै बुझायो ।
यतिमात्र होइन, ज्ञापनपत्रमार्फत् मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवमाथि उनले कारागारमा राजनीति गरेकोलगायतका विभिन्न आरोप लगाएर तरुण दलले लगाएको छ । यस विषयमा हामीले मेयर यादव र घाइतेहरूसँग कुरा गर्यौं ।
मेयर यादवले आफू पीडितलाई चिन्दा पनि नचिनेको र जनप्रतिनिधिको नाताले न्यायका लागि बोल्दा आफूलाई जोडेर कांग्रेसले राजनीति गरेको बताएका छन् । घाइतेहरूले पनि मेयर यादवलाई आफूहरू नामले चिन्ने भएपनि व्यक्तिगत चिनजान नभएको बताए ।
यसले के प्रष्ट पार्छ भने कांग्रेसले घटनालाई विषयान्तर गर्न ज्ञापनपत्र फण्डा गरेको देखिन्छ । कुटपिटको आरोप लागेका कारागारका चौकिदार कैलाश ठाकुर कांग्रेस निकट हुन् । श्रोतका अनुसार, कारागारमा चौकिदार, जेलर र प्रशासनको मिलेमतोमा महिनामा लाखौं अनियमितता हुन्छ ।
कांग्रेस निकट चौकिदार भएका कारण यसबाट कांग्रेसका स्थानीय नेताहरूलाई पनि आर्थिक लाभ भइरहेको र यसैकारण कांग्रेस घटनाको ढाकछोप गर्न तथा दोषीलाई संरक्षण दिन उद्दत देखिएको स्थानीय बुद्धिजीवीहरूको विश्लेषण छ ।
उनीहरूले कारागारमा राजनीतिक हिसाबले गलत गतिविधि गर्नेलाई अन्यत्र पठाएर सबैलाई मिलाएर राख्नसक्नेलाई चौकिदारको जिम्मा दिनुपर्ने सुझाव पनि दिएका छन् ।