मलाई यिनीहरुले एउटा टेलिफोन गर्न दिँदैनन् । अनुमति पाउँ, अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान्….६ दिनदेखि हिरासतमा छु।
चार घण्टाभन्दा बढी बयान भएको छैन। प्रश्नहरु दोहोरिएका छन्, तेहेरिएका छन्। सम्मानित संसदीय समितिको त्यो ठूलो प्रतिवेदनको कभरपेज पढ्नु भयो होला कालो कोट लगाउने महासयले, एकपटक फेरि यही इजलासमा पढेर हेरियोस्, सहकारी ठगीमा मेरो संलग्नता कहाँ, कुन अक्षरमा लेखिएको छ ?राज्य दम्भ देखाउछ, बयान लिँदैन, छल्छ।
अनि आदेश दिईएको छ, प्रहरीलाई जागिर जाला, सरुवा होला भन्ने डर छ । डर देखाइसकियो, चितवनमा सीडीओ र एसपी फालियो अब यहाँका त्राहीमाम हुनुहुन्छ। मलाई आँखाभरी आँशु पारेर ‘हामीलाई थाहा छ तपाईंको केही पनि छैन तर, के गर्नु हजुर आदेश मान्नुपर्छ’ भन्नुहुन्छ उहाँहरु नै।
मैले यहाँ नबोलेर कहाँ बोल्ने ? चरम अन्याय भैरहेको छ। सुनुवाई कुन न्यायाधीशकोमा पर्छ र कुन न्यायाधीश कसले नियुक्ति गरेको हो भन्ने आधारमा अदालतलाई प्रभावित पार्ने प्रयास गर्छौ भन्दै हिंड्ने पनि छन्। तर मलाई तिनमा विश्वास छैन। मलाई श्रीमान् माथि विश्वास छ। मलाई म्याद थप हुन्छ बहस त गर्ने मात्र हो भनिएको छ । तर, मलाई यसमा पनि विश्वास छैन। किनकी, एक्स्ट्रा अडिनरी विषयमा एक्स्ट्रा अडिनरी कुरा हुन्छ । गलत तथ्यहरु दिइएको छ, गलत कुराहरु भन्दै आईरहेको छ ।
श्रीमान्, हिजो राति फोन गरीगरी बोलाएर, लाइन लागाएर उजुरी दिन आउ भनेर प्रहरी कार्यालयमा उजुरी गर्ने मान्छे बोलाइएको छ । यो मेरो आक्रोश हो, मैले जे महसुस गरेको छु । आज मैले श्रीमान्सँग भन्नु पर्ने हुन्छ, कहाँ सम्मको अन्याय गरिएको छ भन्ने कुरा ।यो देशले आशा गरेका नयाँ मान्छे बोकेर बसेका छौं। उनीहरु शान्त रुपमा आन्दोलन गरेर बसेका छन्।
शान्त आन्दोलनमा पार्टीका मान्छे पठाएर बिथोल्ने काम हुन्छ । वृद्ध बा–आमाहरु आएका छन् । त्यस्ता मान्छेलाई बिथोल्ने कार्य हुन्छ । के आफ्नो बारेमा शान्त रुपमा आवाज उठाउन पनि पाईदैन श्रीमान् ? स्वतन्त्र रुपमा प्रदर्शन गर्न पनि पाईदैन श्रीमान ? शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरिन्छ र भनिन्छ नयाँ दल पनि उस्तै हुन् ।एउटा जाँच एउटा कक्षमा मान्छेले कति पटक दिन्छ श्रीमान ? म यो ठूलो आवाजका लागि क्षमा चाहान्छु, असाध्यै धेरै पीडा भएर नै आवाज ठूलो भएको हो ।
तत्कालिन प्रधानमन्त्रीले प्रहरीलाई बोलाएर, सीआइवीलाई बोलाएर, महान्यायाधिवक्तालाई बोलाएर सोधेर, तिनले दिएका पत्रको आधारमा उजुरी छैन, मुद्दा छैन, कतै प्रतिवादी होइन भनेर संसदमा भन्नु भएको होइन । त्यतिखेरका सत्तसाझेदार अहिलेका प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनेका कुरा अहिले काम लागेन ? सहकारी छानबिन संसदीय समितिका सभापतिले विभिन्न टेलिभिजनमा उहाँको संलग्नता छैन, केही कतै देखिएन, संस्थागतमा कुनै निर्णय गरिएको छैन भनेर बताउनु भएको होइन ? प्रहरी प्रमुखले संसदीय समितिमै बयान दिनुभएको होइन ? गर्न बाँकी केही छैन श्रीमान…तर पनि सहकारी ठगेको मुद्दा लगाइएको छ, संगठित अपराधसमेत भनिएको छ ।
म बिदेशमा बेचिएका चेलीहरुलाई देशमा ल्याउने संगठित अपराधमा लागेको रहेछु श्रीमान् सजाय पाऊँ। म बिदेशमा अलपत्र परेका नेपाली दाजुभाइलाई नेपालमा ल्याउने संगठित अपराधमा लागेको मान्छे हो, सजाय पाऊँ श्रीमान्। म बाढीले बगाएको बस्ती मधेसमा बनाउने संगठित अपराधमा हिंडेको अभियुक्त हुँ, सजाय पाऊँ श्रीमान् । म दुर्गम कालिकोटमा अस्पताल बनाउन गएको मान्छे हो, मलाई त्यो संगठित अपराधमा पनि मुद्दा चलाइयोस् श्रीमान ।श्रीमान्, जुन तहको राजनीति र जुन तहको अन्याय ममाथि भएको छ, संसारले हेर्दै छ । मैले आफूलाई सम्हालेर बसेको छु ।
एउटा परिस्थिति बनेपछि श्रीमान् समक्ष आफ्नो कुरा राख्न पाएँ। यो मेरो लागि सौभाग्यको कुरा हो । तर, मैले केही पनि गर्न नहुने ? मैले चुनाव लड्न नहुने, सांसद, मन्त्री हुन नहुने । अनि, म नागरिक हुन नहुने । ल्याएर राख्ने, लिङ्गरिङ गर्ने अनि बयान भएको छैन भनेर म्याद थप्न माग्ने ?यतिखेर जब म प्रतिपक्षमा छु, जतिखेर देशमा दुई तिहाईको शक्तिशाली सरकार छ त्यो शक्ति नागरिकको वा अरु कसैको मुख थुन्न वा अन्याय गर्न दुरुपयोग नहोस् ।
यो बेलामा कोर्ट अझ बढी सक्रिय हुनेछ भन्ने विश्वास लिन्छु । म फेरि पनि पीडाका कारण आक्रोशमा बदलिएको अभिव्यक्ति स्वीकार गरिदिनुहुन्छ भनेर बिनम्रपूर्वक क्षमा माग्दै आफ्नो कुरा टुग्याए श्रीमान ।