सिरहा । अपन माईट अपन पहिचान, समाजिक परिवर्तनक लेल हमरा सबक अभियान (आफ्नो माटो आफ्नो पहिचान, समाजिक परिवर्तनको लागि हाम्रो सबैको अभियान) नाराका साथ गोलबजारमा माटो दिवस मनाइएको छ ।
गोलबजार नगरपालिका-३ मुसहर्नियाँका टोलबासीको आयोजनामा मुसहरीमा माटो दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले मुसहर सामुदायको प्रम्परालाई स्थापित गर्नका लागि स्थानीय सरकारबाट गर्नुपर्ने सहयोगमा आफू पछि नहट्ने बताएका छन् ।
‘माटोसँग मुसहर समुदायको प्रत्यक्ष संलग्नता रहँदै आएको छ, माटोको रक्षकका रूपमा मुसहर समुदाय सक्रिय रहन्छन्, यो प्रशंसनीय कुरा हो,’ उनले भने, ‘यसमा नगरपालिका सधैंभरि तपाईंहरूको साथमा रहनेछ ।’
उनले अब नगरपालिकामा मुसहर सामुदायका व्यक्तिहरुका लागि रोजगारको छुट्टै र विशेष प्रबन्ध मिलाउने प्रतिबद्धता पनि गरे । कार्यक्रममा गोलबजार नगरपालिका ३ का वडाध्यक्ष धनप्रसाद लामालगायत स्थानीयहरूको सहभागिता थियो ।