सिरहा,। सिराहा जिल्लाको सामुदायिक विद्यालयहरू र संस्थागत विद्यालयहरू, क्याम्पसहरु लगाएत टोल बस्तीहरूमा वसन्त पञ्चमीको रौनक देख्न सकिन्छ ।
विद्याकी देवी सरस्वतीको पूजा आजाका लागि बिधालयहरुमा मूर्ति स्थापना र सरसफाई लगाएतका रंगी विरंगी सजिसजाउ बातावरण देख्न सकिन्छ ।
वसन्त पञ्चमी ,श्रीपञ्चमी र सरस्वती पूजाको नामले चिनिने यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाईन्थ्यो पछि माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ ।
सरस्वतीले जीवनमा पूर्णता हासिल गर्नका लागि र जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँदै संगीत, कला, साहित्यसम्बन्धी ज्ञान दिने भएकोले विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
पूजाको दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा , बुनिया लगायतको प्रसाद अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाई पूजा गर्ने गरिन्छ ।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ ‘वसन्त पञ्चमी’ को रूपमा समेत मनाईन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्मकी अर्धाङ्गिनी ब्रह्मयणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ ।
सिरहा ,माडर ,लहान , धनगढी,गोलबजार , चोहर्वा,मिर्चैया ,बन्दीपुर , कर्जनहा,कल्याणपुर ,औरहि, भगवानपुर लगायतको ठाउँहरूमा पूजाको संपूर्ण तयारी पूरा भएको बुझिएको छ ।
पूजाको लागि सम्पूर्ण तयारी सँगै सांकृतिक कार्यक्रमहरु समेत विद्यालयहरुमा तयारी पूरा भएको शिक्षकहरुले बताएका छन ।