लहान इलाका प्रशासन कार्यालयमा अनलाइन नागरिकता सिफारिस प्रणाली प्रभावकारी

प्राविधिक सबै

लहान, सिरहा ।
सिरहा जिल्लाको लहानस्थित इलाका प्रशासन कार्यालयमा गत फागुनदेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवा प्रवाहलाई सहज बनाउनुका साथै सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ। वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि नागरिकता लिन आउने सेवाग्राहीलाई निकै सहज भएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख गोकर्णराज सुयलका अनुसार ‘डिजिटल’ सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो प्रणालीप्रति नागरिकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। “पहिले दिनभर लाइन बस्नुपर्ने बाध्यता थियो, अब त्यो हटेको छ। अनलाइन सिफारिस प्रणालीले प्रक्रियागत झन्झट हटाउनुका साथै सेवाग्राहीको समय पनि बचत भएको छ,” उनले बताए। साथै, उनले सेवा प्रवाहमा छरितोपना आएको र दैनिक कामको चाप व्यवस्थापन गर्न सहज भएको जानकारी दिए।

उनका अनुसार, अनलाइन प्रणाली लागू भएपछि अभिलेखीकरण प्रक्रिया समेत सहज भएको छ भने झुटा वा किर्ते विवरणका आधारमा नागरिकता लिने कार्यमा पनि नियन्त्रण कायम भएको छ। यसले सेवाप्रवाहलाई ‘विचौलिया मुक्त’ बनाउँदै थप पारदर्शी र प्रभावकारी बनाएको उनले उल्लेख गरे।

पाँच महिनाको अवधिमा इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रमा पर्ने विभिन्न स्थानीय तहका ४० वटा वडा कार्यालयबाट कुल १,५८१ जनाले अनलाइन सिफारिसमार्फत नागरिकता प्राप्त गरेका छन्।

सिफारिसको तथ्यांक यसप्रकार छ:

  • लहान नगरपालिका (२४ वडा): ८५४ जना
  • भगवानपुर गाउँपालिका (५ वडा): २१२ जना
  • सखुवानन्कारकट्टी गाउँपालिका (५ वडा): २०१ जना
  • धनगढीमाई नगरपालिका (वडा १२, १३, १४): १३४ जना
  • लक्ष्मीपुर पतारी गाउँपालिका (वडा २ र ६): १२० जना
  • नवराजपुर गाउँपालिका (वडा १): ६० जना

सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात लिएर गएपछि त्यहीँबाट अनलाइन प्रणालीमार्फत सिफारिस प्रक्रिया सुरु गरिन्छ। एकपटक सफ्टवेयर प्रणालीमा विवरण प्रविष्ट भएपछि ती जानकारी गृह मन्त्रालयअन्तर्गतको नागरिकता फाँटमा रजिष्ट्रेशन कोडको आधारमा प्रत्यक्ष रूपमा पहुँचयोग्य हुन्छन्। यसरी प्रक्रियागत पारदर्शिता सुनिश्चित गर्दै सेवाग्राहीले सहज रूपमा नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

लहान इलाका प्रशासन कार्यालयले जिल्लामै पहिलोपटक अनलाइन नागरिकता सिफारिस सेवा सुरु गरेको हो। यो प्रणालीले सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने दिशामा ठूलो योगदान दिएको सरोकारवालाहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *