काठमाडौंको पानीमा सङ्क्रमणको जोखिम उच्च

अन्य सबै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। बर्खाको समयमा जताततै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्न सक्ने भन्दै महानगरले उपभोक्तालाई उमालेर मात्र पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो।

महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीजन्य जोखिम कम गर्न महानगरले पिउने पानीको उत्पादन, ढुवानी र वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको बताए। उनले उपभोक्ताले पनि पानी उमालेर मात्र पिउनुपर्नेमा जोड दिए, ‘पानीजन्य सङ्क्रमणबाट बच्न यो सावधानी अपनाउन जरुरी छ।’

महानगरले गत असारमा गरेको अनुगमनमा १५९ मापदण्डविपरीत पिउने पानी बोकेका जार नष्ट गरेको उनले बताए। अनुगमनका क्रममा महानगरले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरबासीको आवश्यकता पूरा गराउन पानीको प्रशोधित सेवा दिने व्यवसायीका सवारीसाधन र जारको नियमित अनुगमन गरिरहेको छ।

अनुगमनमा मापदण्डविपरीत भेटिएका जारलाई महानगरले अनुगमनकै क्रममा नष्ट गरेको विभागका प्रमुख न्यौपानेले बताए। कुच्चिएका, फुटेका र भित्रको पानी नदेखिने अपारदर्शी जार प्रयोग नगर्न पनि महानगरले सबैलाई आग्रह गरेको छ।

कमजोरी पाइएका पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत प्रशोधित जार बिक्री नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न र कम्पनीले जारी गरेको बिलबिजक गाडीमा लिएर हिँड्न निर्देशन दिएको न्यौपानेले बताए।

त्यसैगरी, महानगरले हैजा नियन्त्रणका लागि समुदाय तहमा पुगेर नागरिकले पिउने पानीको नमूना परीक्षण गर्ने तयारी गरेको छ। पानीको नमूना परीक्षणसँगै महानगरको प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम सुरु गर्ने तयारी भइरहेको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका ‘फोकल पर्सन’ ऋषि भुसालले बताए। उनले भने, ‘यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमित पानी परिरहेकाले हैजाका बिरामी बढ्न सक्ने अनुमान छ।’ यसअघिका वर्षमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *