सिरहा, ४ भदौ । सिरहा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विहीबार २०८२ भदौ ४ गते दिउँसो विष्णुपुर गाउँपालिका–१ स्थित चौहर्वातर्फ आउँदै गरेको यात्रुबाहक विङ्गर प्र.२–०१–००१ज ००४३ मा चढेका यात्रुहरूमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले गाडी रोकी चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा मकवानपुर, हेटौडा उपमहानगरपालिका–१५ बस्ने करिब ३८ वर्षीय दिनेश सुनारको पाइन्टको दाहिने खल्तीमा साना–साना दुई प्लाष्टिक पोकामा राखिएको खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थको तौल ७ ग्राम ३१० मिलिग्राम रहेको छ।

दिनेशसँगै रहेका मकवानपुरकै २९ वर्षीय विशाल गोले र ३८ वर्षीय इन्द्र सुनारलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका तिनै जनालाई सिरहा जिल्ला अदालतमा पेश गरी ४ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो कारबाहीबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले प्रहरीले लागूऔषध कारोबारविरुद्ध कडाइका साथ निगरानी र कारबाहीलाई निरन्तरता दिएको बताए।
