डोल्पाको सडक ठेक्कामा ५५ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दायर

सबै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक स्तरोन्नति ठेक्कामा मिलेमतो गरी राज्यलाई करिब ५६ लाख रुपैयाँ हानि पुर्‍याएको भन्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बिगो कायम गरी सोमबार आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार त्रिपुरासुन्दरी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा वडा नं–५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिको लागि बोलपत्र आह्वान गरेको थियो । उक्त ठेक्का प्रक्रियामा मिलेमतो गरी दिव्या निर्माण सेवा प्रा.लिलाई ठेक्का दिइएको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा बोलपत्र मूल्यांकन समितिले सार्वजनिक खरिद ऐन र नियमावलीमा अनिवार्य नभएको कम्पनी मालिकको नागरिकता जस्ता शर्त थपेर अन्य ६ प्रतिस्पर्धी कम्पनीलाई जानीबुझी प्रक्रियाबाट हटाएको खुलेको छ । रोचक त के छ भने, ठेक्का पाउने दिव्या निर्माण सेवाले समेत उक्त कागजात पेश नगरेको भए तापनि उसलाई भने योग्य ठहर गरिएको थियो ।

मिलेमतोको पुष्टि सबैभन्दा न्यूनतम रकम (२४,७३,६१५) कबोल गर्ने कृष्ण निर्माण सेवा र सबैभन्दा अधिकतम रकम (८०,६२,६७८) कबोल गर्ने दिव्या निर्माण सेवा बीचको अप्राकृतिक सम्बन्धबाट पनि भएको आयोगको दाबी छ । दुवै फर्मको ‘लेटर अफ बिड’ मा एकै व्यक्तिले हस्ताक्षर गरेको, घोषणापत्रलगायतका कागजातको ढाँचा र मिति समेत एउटै रहेको पाइएको थियो ।

मूल्यांकन समितिले बदनियतपूर्वक कम रकम कबोल गर्नेलाई अयोग्य घोषणा गरी सबैभन्दा बढी रकम कबोल गर्ने दिव्या निर्माण सेवालाई ठेक्का दिएर राज्यकोषमा ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा नोक्सानी पुर्‍याएको आरोपपत्रमा उल्लेख छ । साथै, अन्य बोलपत्रदाताले खरिद निर्णयमाथि पुनरावलोकनको निवेदन दिन नसकून् भनेर निवेदन दिने अन्तिम दिन मात्र पत्रिकामा सूचना प्रकाशित गरी उनीहरुलाई वञ्चित गराइएको थियो ।

आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्ण बहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआईएस अपरेटर हरिचन्द्र बिष्टलाई प्रतिवादी बनाएको छ ।

त्यसैगरी, बोलपत्र मूल्यांकन समितिका सदस्य इन्जिनियर शिशिर कुमार गुरुङ तथा ठेक्का पाउने दिव्या निर्माण सेवा प्रा.लि., दुनै, डोल्पा र उक्त कम्पनीका प्रोप्राइटर भीमराज न्यौपानेविरुद्ध पनि मुद्दा दायर भएको छ ।

आयोगले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल गरी कैद र जरिवानाको मागदाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *