रामएककाल राम
जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट केही व्यक्ति जाँदैमा आफूहरू कमजोर नभएको बताउँदै अब थप ऊर्जाका साथ अगाडि बढ्ने काम भइरहेको बताए।मधेस प्रदेस सरकारबाट जसपा नेपाल बाहिरिनुपरेको सन्दर्भमा उनले केही राजनीतिक घटनाक्रमका कारण यस्तो स्थिति सिर्जना भएको जिकिर गरे।
जेठ २८ देखि सुरू हुन लागेको महाधिवेशनको पूर्वसन्ध्यामा प्रेस मञ्च नेपालले शनिबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन।
अध्यक्ष यादवले राज्य शक्तिको प्रभाव र लोभ देखाएर पार्टीका केही व्यक्तिलाई तान्ने काममात्र भएको र यसलाई विभाजन भन्न नमिल्ने तर्क गरे।प्रधानमन्त्री आफैंले मैले जसपा नेपाललाई टुक्र्याइदिए भन्नुभयो, हाम्रो पार्टी विभाजन भएको होइन उनले भने कोही मन्त्री बन्न, कोही धनबहादुर बन्न चोइटिएर गएका हुन।
पहिचानको आन्दोलनमाथि सरकराले प्रहार गरेको आरोप लगाउँदै उनले यसबाट आफूहरूको शक्ति कमजोर नभएको दाबी गरे।सँधै सत्तामै बसिरहनुपर्छ भन्ने छैन, केही राजनीतिक घटनाक्रमका कारण हामी सरकारबाट बाहिरिनु परेको हो अध्यक्ष यादवले भने समयक्रमसँगै यो सरकारको पनि मूल्यांकन हुनेछ, मधेसमा सबैभन्दा बढी स्थायित्व हाम्रो पार्टी नेतृत्वको सरकारले दिएको छ।
उनले बजेट वितरणमा संघीय सरकारले मधेस प्रदेससँग विभेद गरेको आरोप लगाए।सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेसमा सरकार कम बजेट विनियोजन गरेको उनको भनाइ छ।आग्रह र पूर्वाग्रहले प्रेरित भएर बजेट आएको छ, मधेससँग विभेद गरिएको छ यादवले भने यो सरकारले मधेस र मधेसीलाई आफ्नो ठान्दैन, सरकारको रवैया मधेसविरोधी रहेको प्रष्ट भइसकेको छ।
उनले केन्द्रमा राजनीतिक समीकरण हेरफेर हुँदैमा प्रदेसहरूमा भुइँचालो आउनु ठीक नभएको जिकिर गरे।
अध्यक्ष यादवले राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयप्रति आपत्ति जनाए।प्रधानमन्त्री आफैंले भारत भ्रमण गर्नुअघि राजदूत फिर्ता बोलाउने निर्णय मर्याविपरित रहेको उनको भनाइ छ।
भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन भोलि भारत गइरहनु भएको छ उनले भने त्यसअघि राजदूत फिर्ता बोलाउने निर्णय भएको छ, यो कूटनीतिक र मर्यादाविपरित काम हो।
विदेशी पाहुना पनि आमन्त्रित
३० जेठसम्म जनकपुरधाममा चल्ने जसपा नेपालको एकता महाधिवेशनमा १ हजार ३ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन।देशका ७७ जिल्लाबाट पर्यवेक्षकबाहेक १ हजार ३ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने अध्यक्ष यादवले जानकारी दिए।
त्यस्तै महाधिवेशनमा सहभागी हुन भारतलगायतका छिमेकी मुलुकका राजनीतिक दललाई समेत निमन्त्रणा पठाइएको उनले बताए।अध्यक्ष यादवका अनुसार भारतको राष्ट्रिय कांग्रेस, राष्ट्रिय जनता दल, समाजवादी पार्टीका साथै मलेसिया र स्पेनका राजनीतिक दलका प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन।
जनकपुरधाम–४ स्थित तिरहुतिया गाछी मैदानमा उदघाटनसत्र र महेन्द्रनारायण निधि सांस्कृतिक भवनमा बन्दसत्र हुने जसपा नेपालले जनाएको छ।