सिरहा । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित रहेको राजर्षी जनक विश्वविद्यालयमा साउन १७ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन लागेको छ ।
निर्वाचनलाई लक्षित गरि प्रदेश युवा संजाल मधेश प्रदेशले स्ववियुका उम्मेदवारहरु संग खुल्ला सडक बहस कार्यक्रम गरेको छ ।बहसमा राष्ट्रिय दल तथा मधेस केन्द्रित दलका भात्री संघसंगठनका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो । तर खुल्ला सडक बहस कार्यक्रममा संयुक्त विद्यार्थी संगठनका सभापतिका उम्मेदवार श्याम साहले मात्र सहभागी भएका थिए ।
बाँकी संगठनका उम्मेदवारहरु बहसमा आउन मानेन ।उम्मेदवार साहले जहिले पनि विद्यार्थीहरुको हकहितका लागि काम गरेको बताए । ‘आउने दिनहरूमा पनि विद्यार्थीको हकहितका लागि काम गरिरहेने छौं, उनले भने, हामीले कहिल्यै पनि विश्वविद्यालयमा ताल्चा लाग्न दिदैनौं ।’
उनले विश्वविद्यालयको चौतर्फी विकासको लागि दिनरात खट्ने प्रतिबद्धता समेत गरे । विश्वविद्यालयको स्थापनाकाल देखि विभिन्न समयमा भएको संघर्षमा हामीले साथ सहयोग गरेर सुधार ल्याएको उम्मेदवार साहले बताए ।
स्थापनाको छैठौं वर्षमा प्रवेश गरिरहेको राजर्षी जनक विश्वविद्यालयमा यसपाली चुनव हुन लागेको हो । चुनावी प्रक्रियामा विद्यार्थीहरु सहभागी हुन पाउदा उत्साहित छन् । कार्यक्रमलाई मधेश प्रदेश युवा संजालका अध्यक्ष नाइम राइनले सहजीकरण गरेका थिए ।