प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ८७ जनाको टोली सहभागी हुने भएको छ । हिजो बसेको मन्त्रीपरिषदको बैठकले यही मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जना हुने र धेरै निजी क्षेत्रबाट उपस्थिति रहनेछ ।
प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मङ्सिर १८ गते भेटवार्ता गर्नुहुनेछ । भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्कने छ ।यसैबीच प्रधानमन्त्रीको भ्रमण तयारीको लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीनको छेन्दु पुग्नुभएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उहाँ हिजो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानुभएको हो ।मन्त्री डा.राणालाई छेन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री डा.राणाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप उहाँ चीन जानुभएको हो ।