नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति। यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि। यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।
माघ १ गतेदेखि उत्तरायण सुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, कमला, कोशी स्डीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ।
यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।