काठमाडौँ: काठमाडौंको धरहरामा आइतबार (भोलि)देखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा यो सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ ।
न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरिएपछि धरहरामा यो सेवा दिन लागिएको महानगरले उल्लेख गरेको छ ।“यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ ।
सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ,” महानगर प्रहरी बलका प्रमुख एवं नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने ।सो भवनमा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका निम्ति उपलब्ध हुनेछ ।
सहिद गेटबाट नयाँ सडकतर्फ जाँदा बायाँपट्टि काठमाडौं मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिने उनले बताए ।संरचनागत रूपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ भएको महानगरको दाबी छ ।