भारत–गल्फ सम्बन्ध सुदृढ पार्न उच्चस्तरीय पहल
काठमाडौं, साउन ४ — दुबईमा हालै सम्पन्न एक ऐतिहासिक त्रिपक्षीय बैठकमा भारतको मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव, HRH Prince Salman Bin Faisal Al Saud Investment LLC का संस्थापक तथा प्रबन्ध निर्देशक रिजवान आलम, र अरब संसद्का अध्यक्ष महामहिम मोहम्मद अहमद अल यमाहीबीच विशेष भेटवार्ता सम्पन्न भएको छ। यो भेट भारत र गल्फ मुलुकहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा एक महत्वपूर्ण कूटनीतिक तथा आर्थिक प्रयासको रूपमा हेरिएको छ।
दुई घण्टा लामो उक्त बैठकमा सांसदीय सहकार्य, विदेशी लगानी (FDI) र क्षेत्रीय विकास सम्बन्धी विषयहरूमा गहन छलफल गरिएको थियो। बैठकमा मध्य प्रदेश, यूएई र अरब लिग संस्थाहरूबीच संसदीय अभ्यासको आदानप्रदान, सांस्कृतिक सम्बन्धको विस्तार तथा गल्फ मुलुकहरूसँगको आर्थिक साझेदारीको सम्भावनाहरूमा केन्द्रीत विषयवस्तुहरू उठाइएका थिए।
मुख्यमन्त्री डा. यादवले समारोहपूर्व स्वागत कार्यक्रममा दुबै विशिष्ट पाहुनालाई नेपाली तथा भारतीय परम्पराअनुसार “खदा” र स्मृतिचिह्न प्रदान गर्दै आपसी सम्मान तथा दीर्घकालीन सहकार्यको संकेत गरेका थिए।
उनले बैठकमा भने, “यो भेटवार्ता भारतका प्रदेशहरूको आकांक्षालाई गल्फ क्षेत्र तथा अरब संसद्को समर्थनसँग जोड्ने दिशामा उल्लेखनीय कदम हो। हामी सँगै मिलेर आर्थिक सहकार्य र आपसी समझदारीलाई नयाँ उचाइमा पुर्याउनेछौँ।”
HRH Prince Salman का संस्थापक रिजवान आलमले यस्तो उच्चस्तरीय संवाद आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए। “दिगो विकास र संसदीय साझेदारीप्रति हाम्रो साझा प्रतिबद्धताले प्रभावकारी परियोजनाहरू अघि बढाउनेछ,” उनले विश्वास व्यक्त गरे।
अरब संसद्का अध्यक्ष महामहिम मोहम्मद अहमद अल यमाहीले गल्फ मुलुक र भारतका प्रदेशहरूसँगको संसदीय सञ्जाल विस्तारका साथै प्रमुख परियोजनाहरूमा गल्फ लगानी प्रवाह गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
यस त्रिपक्षीय संवादले उर्जाशक्ति, पूर्वाधार, प्रविधि, कृषि लगायतका प्राथमिक क्षेत्रमा लगानीको ढोका खोल्नुका साथै संयुक्त विकास मोडेलहरू स्थापनाका सम्भावनालाई पनि उजागर गरेको छ।
भविष्यमा भारत–गल्फ सम्बन्ध शासकीय तथा आर्थिक दुवै पक्षमा अझ फराकिलो र प्रभावकारी बन्ने विश्वास बैठकपछि व्यक्त गरिएको छ। यस्तो भेटवार्ताले क्षेत्रीय सहकार्यलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
