सिरहा कारागारमा नाइके विवादले झडप, १३ कैदी घाइते

अन्य सबै

सिरहा |
सिरहा जिल्ला कारागारभित्र ‘नाइके’ तोक्ने विषयलाई लिएर उत्पन्न विवादले आइतबार दिउँसो झडपको रुप लिँदा १३ जना कैदीबन्दी घाइते भएका छन्।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कारागारभित्र आन्तरिक प्रशासन सञ्चालनमा सहयोग गर्ने ‘नाइके’ को चयनमा मतभेद चर्किँदा दुई समूहबीच झडप भएको हो। “नाइके को हुने भन्ने विवादले दुई समूहबीच झडप भएको हो,” बरालले बताए।

झडपको खबर पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली कारागार परिसरमा पुगेको थियो। घटनाको थप अनुसन्धान भइरहेको सिरहा प्रशासनले जनाएको छ।

सिरहा कारागारको क्षमता १५० कैदीबन्दी भए पनि हाल त्यहाँ तीन गुणा बढी, अर्थात् ४५८ जना कैदीबन्दी राखिएको छ। क्षमताभन्दा धेरै कैदी हुँदा व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ।

विशेष कुरा त के छ भने, घटनाको अघिल्लो दिन शनिबारमात्र जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कारागार अनुगमन गरेको थियो। अनुगमनका क्रममा कारागारमा कुनै असहज अवस्था नरहेको बताइएको थियो। तर, त्यसको भोलिपल्टै झडप हुनुले कारागार व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ।

यसअघि पनि कारागारभित्र आपराधिक गतिविधिको आशंकामा छानबिन समिति गठन गरिएको थियो। डेढ महिनाअघि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *