सीरहा सीमाबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ, गोली प्रहारपछि नियन्त्रणमा

अन्य मधेस

सिरहा, साउन १० – भारतबाट नेपालतर्फ लागूऔषध बोकेर आउँदै गरेका एक भारतीय नागरिकलाई सिरहाको नवराजपुर गाउँपालिकामा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

सुराकीका आधारमा लागूऔषध ओसारपसार भइरहेकाे सूचना पाएपछि ईलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोली नवराजपुर–४ मा प्वाइन्ट बनाएर बसिरहेको थियो।

दिउँसो करिब ४ बजेको समयमा भारतबाट नेपाल भित्रिंदै गरेको बीआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकलमा सवार एक व्यक्तिलाई प्रहरीले रोकेका थिए। तर, ती व्यक्ति भाग्न खोजेपछि प्रहरीले टाइप ७७ पेस्तोलबाट एक राउन्ड गोली फायर गरी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जानकारी दिए।

पक्राउ पर्ने व्यक्ति भारत, मधुवनी ग्रामपंचायत विरपुर–९ निवासी ३८ वर्षीय श्याम सुन्दर पासवान रहेका छन्। प्रहरीले उनको साथबाट अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ।

पासवानलाई मोटरसाइकल र लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेशपुरपतार पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा थप खोजतलासी कार्य पनि जारी रहेको डिएसपी पासवानले जानकारी दिए।

प्रहरीले सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रण गर्न नियमित गस्ती र निगरानीलाई अझ सशक्त बनाइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *