हरिपुर्वा नपामा हाकिम सरुवा प्रकरण– मेयर साहको चरम चलखेल

सबै समाचार

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नाटकिय ढंगले भइरहेको हाकिम सरुवा प्रकरणमा मेयर विनोद कुमार साहले चरम चलखेल गर्दै आएको कुरा खुलासा भएको छ । प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको सरुवामा मेयर साह आफ्नो पदिय पावरको चरम दुरुपयोग गर्दै निजलाई सरुवा गराउदै आएका छन् ।

नगर प्रमुख साहले मिति २०८० साल पुस २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिदिनका लागि मिति २०८० पुस २५ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार तहाँ कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले असहयोग गरेको र निर्देशन पालना नगरेकोले निजको अविलम्ब अन्यत्र सरुवा गरिदिनका लागि पठाएको पत्रबाट प्रष्ट भएको छ । सोही पत्र अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ३ गते यादवलाई स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरि सिरहा नगरपालिका, सिरहामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको मन्त्रालयको पत्रबाट प्रष्ट भएको छ ।

उक्त पालिकामा विगत लामो समयदेखि मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको सरूवामा चरम चलखेल गरेकै कारण समाजिक सुरक्षा भत्ता वितरण, शिक्षक तथा कर्मचारीहरूको तलब, भत्ता भुक्तानी लगायतका कार्यहरुको साथै नगर विकासको कामहरु विगत लामो समयदेखि ठप्प रहेको छ ।

मेयर साहले गरेका भ्रष्टाचारका फेरिहस्तलाई सुरक्षित अवतरण गर्नैका लागि मेयर साहलाई कानुनले दिएको अधिकार भन्दा अधिक कानुनको दुरुपयोग गरि आफ्नो व्यक्तिगत स्वार्थमा खास व्यक्तिनै प्रमुख प्रशासकीय अधिकृत चाहिन्छ भनेर विभिन्न निकायमा दबाब दिनुले नै मेयर साह नामुद भ्रष्टाचारी भएको कुरा प्रमाणित हुन्छ । पालिका ठप्प पारेर मेयर साहले आफ्नो स्वार्थपूर्ति तथा पालिकामा गरेका भ्रष्टाचारका कागजपत्र मिलाउन आफु प्रतिकुलको प्रमुख प्रशासकीय अधिकृतलाई पटकपटक सरुवा गराउन अग्रसरता देखाएकाले निजको मनोभावना तथा दुषित मनसायबाट पनि मेयर साहले भ्रष्टाचार गरेको भन्ने कुरा प्रमाणित हुन्छ ।

फागुन ७ गते मेयर साहले गुपचुप रुपमा अबैधानिक ११औं नगरसभा गर्न खोजेपछि हरिपुर्वामा झड्प समेत भएको थियो । नगरपालिकाले आ.व. २०८०÷०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न नपाउदै नगरसभा झडपमा परिणत भएर स्थगित भएको थियो । नगरसभा कानुन अबैध भएको र मेयर साहले नगरसभामा ल्याएको माइन्युट पुर्व पश्चिम् राजमार्ग स्थित लालबन्दीमा तयार गरि फर्जी हस्ताक्षर सहितको माइन्युट भएकोले स्थानीय जनप्रतिनिधि र जनताहरुले सो नगरसभा बिथोलेका थिए ।

मेयर साह असक्षम र बिकास बिरोधि

हरिपुर्वा नपाका मेयर विनोद कुमार साह असक्षम र बिकास बिरोधि रहेको सर्वदलीय संघर्ष समितिका संयोजक बिकाउ यादवले जानकारी गराएका छन् ।

संयोजक यादवले, मेयर साहको निरंकुशता, विवेकहीनता तथा विकास विरोधी गतिविधिका कारण पालिका ठप्प भएको उनले जनाए । मेयर साहले श्री केशव गरिव जनता माध्यमिक विधालयको करिब १३ बिघा जग्गाको आम्दानी आफै लिने गरेको, बाँके– संग्रामपुर सडक खण्डमा मापदण्ड भित्रमा मेयरको घर परेता पनि मेयरले घर नभत्काई सडकको विकास निर्माणको कार्यमा अवरोध खडा गरेकाले त्यस विषयमा सम्मानित अदालतमा मुद्दा समेत परिसकेको उनि बताउँछन् । मेयर साहले आर्थिक चलखेल तथा निजि लाभको उदेश्यले पालिका भवन र प्रहरी चौकी भवनको लागि पालिकाको आफ्नो स्वामित्वमा रहेको जग्गामा भवनहरु नबनाइ अन्यत्र अरुको स्वामित्वमा रहेको जग्गामा सो भवनहरु बनाउने निर्णय गरेको, हरिपुर्वा बजारको सार्वजनिक जग्गा मेयर साहले भोगचलन गरि बजारको जग्गा अतिक्रमण गरेको, नगरपालिकाको प्रशासनिक तथा आर्थिक काम कारबाहीमा कर्मचारीलाई अनुचित दबाब दिने गरेको र स्थानीय संचालन ऐन तथा निर्देशिका विपरीत हैकमवादी शैलीमा काम गर्ने गरेकै कारण पालिकाको हालत यस्तो हुनपुगेको सर्वदलीय संघर्ष समितिका संयोजक यादवले ठोकुवा गरेका हुन् ।

मेयर साहको विरुद्धमा सर्वदलीय संघर्ष समिति गठन

सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साहको हैकमवादी, विकास विरोधी गतिविधिका तथा भ्रस्टाचारको विरुद्धमा नगरपालिका स्तरमा रहेका राजनैतिक दलका प्रतिनिधिहरु मिति २०७९ पुस १६ गते बसि मेयर साहको विरुद्धमा सर्वदलीय संघर्ष समिति गठन गरिएको थियो । सो समितिमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जसपा, नेसपा तथा जनमत पार्टी लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संघर्ष समितिको उदेश्य भ्रष्टाचार उन्मुलन गरि विकास निर्माणको कार्यमा सहकार्य तथा सहयोग गर्ने रहेको थियो ।

२०७९ पुस २० गतेको सर्वदलीय संघर्ष समितिको बैठकले मेयरलाई सम्बोधन गरि नगरपालिकामा विकास निर्माणका कार्य संचालन गर्न लिखित सुझाव दिएको थियो । त्यस पश्चात् २०७९ माघ ११ र २०७९ माघ २९ मा पहिलो बैठकको निर्णय कार्यान्वयनका लागि ताकेता पत्र दिएको थियो । मेयर साहलाई पटकपटक ताकेता गर्दा पनि बैठकको निर्णयलाई कार्यान्वयन गर्न आलटाल गरेपछि २०७९ चैत १ मा मेयर साहलाई सर्वदलीय संघर्ष समितिले ज्ञापनपत्र बुझाएको थियो । पुनः २०७९ चैत १२ मा कार्यक्रम सहित संघर्ष समितिले मेयर साहलाई ज्ञापनपत्र बुझाएको थियो । तर मेयर साहले कुनै वास्ता नगरेपछि २०७९ चैत १५ गते देखि सर्वदलीय संघर्ष समिति र स्थानीय जनताहरु समेतको उपस्थितिमा नगरपालिकामा तालाबन्दी गरिएको थियो ।

२०७९ चैत १५ गते देखि २०८० असार ०९ गते सम्म करिब ३ महिना ९ बुदे माग सहित नगरपालिकामा तालाबन्दी यथावत रहेको थियो । तर २०८० असार ९ गते भन्दा १ दिन अगावै २०८० असार ८ गते जिल्ला स्तरीय रुपले तालाबन्दी खोलि पालिका सुचारु गर्न लाई प्रदेश सभा सदस्य कौशल किशोर यादव र जंगीलाल राय तथा जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंह र नगरपालिकाका मेयर विनोद कुमार साह सम्मीलित कार्यदल गठन भएको थियो ।

सो कार्यदलले २०८० असार १५ गते सुझाव सहित कार्यान्वयन गर्ने निर्देशनात्मक प्रतिवेदन जारी गरेता पनि कार्यदलको सो प्रतिवेदनलाई मेयर साहले कार्यान्वयन गर्नुपर्नेमा उनले २०८० असार २०–२५ गते सम्मको कार्यपालिका वैठकमा उनले सो प्रतिवेदन माथि प्रस्ताव समेत नल्याई वैठकमा कुनै निर्णय नगरेकाले २०८० असार २४ मा पुनः सर्वदलीय संघर्ष समितिले भ्रस्टाचार नियन्त्रणका लागि मेयर साहलाई ज्ञापनपत्र दिनुका साथै २०८० भदौ २६ मा पुनः नौ बुदे माग कार्यान्वयनका लागि मेयर साहलाई ज्ञापनपत्र दिएको सर्वदलीय संघर्ष समितिले अन्ततः २०८० असोज ४ गते मेयर साह माथि सर्वदलीय संघर्ष समितिका पदाधिकारी तथा सदस्यहरूले कानुनी कारबाहीको जोड्दार माग गर्दै सम्बन्धित निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई पत्राचार गरेका छन् ।

संघर्ष समितीले गरेका काम कारबाहीको जानकारी सम्बन्धित निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत स्थानीय निकाय जिल्ला प्रशासन कार्यालय तथा जिल्ला समन्वय समितीलाई समेत पत्राचार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *