प्रधानमन्त्री केपी ओली र विद्या भण्डारीबीच च्यासलमा वार्ता सुरु

राजनीति

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने घोषणा सार्वजनिक गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो । यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो ।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आएका छन् । एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपतिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बस्दै छ ।

दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण केहीबेर ढिलोगरी सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *