नवराजपुरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सयभन्दा बढीले गराए स्वास्थ्य जाँच

अन्य सबै

सिरहा । नेपाल रेडक्रस सोसाइटी नेपाल उप-शाखा, नवराजपुरको आयोजनामा र मातृभूमि युवा समाज नेपालको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नवराजपुर गाउँपालिकाको वडा नं २ जगतपुर र वडा नं ३ मझौरामा आयोजित शिविरमा तीन सयभन्दा बढी स्थानीयले स्वास्थ्य जाँच गराएका छन्।

रेडक्रस नवराजपुरका सभापति नवीन यादवका अनुसार, शिविरको मुख्य उद्देश्य गाउँ गाउँमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने र स्थानीय समुदायलाई स्वास्थ्य सचेत बनाउने हो। अपेक्षाभन्दा बढी सहभागीता र जनउत्साहले हाम्रो प्रयासलाई सफल बनाएको छ, उनले बताए।

शिविरमा डा. ओम साह, डा. अभिनाश पूर्व, डा. अमित गोहिबार, साथै मनिष कुमार यादव, नविन साह, राहुल गुप्ता, अमित मुखिया, सन्तोष यादव, राकेश यादव, सुमित यादव र उमेश यादव लगायतले आफ्नो उल्लेखनीय योगदान दिएका थिए। उनीहरूले विभिन्न स्वास्थ्य समस्या पहिचान गरी परामर्श र औषधोपचार सेवा प्रदान गरेका थिए।

त्यसैगरी, मातृभूमि युवा समाज नेपालका अभिनाश पूर्वले जनसेवामुखी कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तारमा ठुलो भूमिका खेलेको बताउँदै भने, स्वास्थ्य सेवा सबैको अधिकार हो। हाम्रो सानो प्रयासले गाउँमा स्वास्थ्यप्रतिको चेतना र विश्वास दुवै बढेको छ।

शिविरमा स्थानीय युवा र स्वयंसेवकहरूले व्यवस्थापन र सहजीकरणमा सक्रिय सहयोग गरेका थिए। उनीहरूले बिरामी अभिमुखीकरण गरे।सिरहा जिल्लाका ग्रामीण बस्तीहरूमा स्वास्थ्य सेवा अझै सीमित भएकाले यस्ता सामुदायिक स्वास्थ्य शिविरहरू जनचेतना र प्राथमिक उपचार पहुँचका दृष्टिले महत्वपूर्ण मानिन्छन्।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै आयोजक सभापति नवीन यादव र मातृभूमि युवा समाज नेपालले भविष्यमा पनि यस्ता जनमुखी स्वास्थ्य अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *