काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ ।
तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।
तत्कालको लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताएका छन् । उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी आउने छ । ती नेताले भने, ‘सुमना जी, अरु केही पदाधिकारीमा रहने साथीहरू पछि दोस्रो चरणमा जोडिनुहुन्छ । अहिलेको लागि प्लेन नै आउँछ, अहिले हामी माइन्यूटिङ र हस्ताक्षरको काम गर्दैछौँ ।’
उनले थपे, सम्भव भएसम्म आज ४ बजेसम्म टुंगाएर आजै दर्ताको प्रयास हुन्छ । नभए भोलि ।’ अहिले केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको छ ।
