मिर्चैयामा राजनीतिको आवरणमा अपराध, जसले गिज्याउँदैछ कानुन

सबै समाचार

सिरहा । माघ २८ गते, आइतबार, दिउँसो १२ बजे । कार्यालयमा खचाखच सेवाग्रही, कर्मचारी भने उनीहरुका काम गर्दै ब्यस्त । त्यतिकैमा मिर्चैया नगरपालिकाको कार्यालय अगाडि एउटा समूह प्रदर्शन गर्दै आउँछ । यस विषयमा सूचना पाएलगत्तै सुरक्षा बन्दोबस्तीका हिसाबले प्रहरी पहिल्यै त्यहाँ पुगिसकेको हुन्छ ।

कार्यालय अगाडि प्रहरी देखेपछि त्यो समूह एकछिन रोकिन्छ । तर, केही क्षणपछि त्यो समूह नगरपालिकाको कार्यालयमा ढुंगामुढा बर्साउन थाल्छ । सेवाग्रही र कर्मचारीको भागाभाग मच्छ । त्यहाँ कोलाहल मच्छ । त्यसक्रममा ५ जना कर्मचारी, एक प्रहरी निरीक्षकसहित दुई प्रहरी र एकजना सेवाग्रहीसमेत घाइते भए ।

ढुंगामुढाबाट नगरपालिकाको कार्यालयमा करिब ३० लाख बराबरको भौतिक क्षति पनि भएको छ । यो घटनापछि सबै आश्चर्यमा परे, स्तब्ध भए । षड्यन्त्रपूर्वक योजनावद्ध ढंगले यो घटना भएको मिर्चैया नगरपालिकका नगरप्रमुख श्रवणकुमार यादव बताउँछन् । यसले नगरपालिकाका सम्पूर्ण सचेत नागरिकलाई स्तब्ध तुल्याएको उनले बताए ।

‘उहाँहरुको केही असन्तुष्टि होला, त्यो विषय मलाई जानकारी गराएको भए म समाधान गर्थे नि,’ नगरप्रमुख यादवले भने, ‘तर, कुरा गर्दै नगरी, जानकारी नै नदिई षड्यन्त्रपूर्वक आक्रमण गरियो । लोकतन्त्रमा विरोध गर्न पाइन्छ, आन्दोलन गर्न पाइन्छ । तर, त्यो शान्तिपूर्ण हुनुपर्छ । यसले मलाई मात्र होइन, तमाम नगरबासीलाई स्तब्ध बनाएको छ ।’

यो घटनापछि नगरपालिकाले २१ जनालाई प्रतिवादी बनाएर प्रहरीमा अपराधिक उपद्रव शिर्षकमा मुद्दासमेत दर्ता गराएको छ । एकजना पक्राउ पनि परेका छन् । तर, अन्य भने खुल्लेआम घुमिरहेका छन् । उनीहरुलाई पक्राउ गर्न प्रहरीले तदारुकता पनि नदेखाएको देखिन्छ । प्रहरी प्रशासनको यस्तो रबैयाले अपराधलाई प्रश्रय मिलिरहेको मेयर यादवको गुनासो छ ।

के हो घटना ?

माओवादी नेता यादवको नगरप्रमुखको रूपमा यो दोश्रो कार्यकाल हो । यसक्षेत्रमा मजबुत जनाधार बनाउँदै गएका उनको राजनीतिक उचाई दिन प्रतिदिन उक्लिँदो छ । यो कुरा अन्य दलमा आवद्ध भएर राजनीति गर्नेहरूसहित माओवादीकै कतिपयलाई पनि नपचेको मेयर यादव सुनाउँछन् । ‘यो लोकतन्त्र हो, सबैले आ–आफ्नो ढंगले राजनीति गर्न पाउँछन्,’ उनले भने, ‘तर, जसले काम गर्छन्, उसैलाई जनताले पनि माया दिने हो । यसमा कसैले टाउको दुखाउने विषय नै यो होइन ।’

यो घटनाको जड खासमा यही प्रतिशोध देखिन्छ । यो प्रतिशोध साँध्न यहाँका विपक्षी दलहरुले गलत पृष्टभूमिका मान्छेहरु संगठनमा भित्र्याएका छन् । यो तथ्यलाई प्रहरी र अदालतको रेकर्ड पल्टाउँदा पनि पुष्टि गर्छ । नगरपालिकाले मुद्दा दर्ता गराएका २१ जनामध्ये केही जनामाथि पहिल्यै विभिन्न घटनामा मुद्दा चलिसकेको छ ।

यस घटनामा संलग्न अमोद भन्ने विजय कुमार यादवमाथि मात्रै ठगी, अभद्र व्यवहार, लागूऔषध, ज्यान मार्ने उद्योगलगायतका शिर्षकमा ९ वटा मुद्दा चलिसकेको छ । धनेश्वर भन्ने दिपेन्द्र यादवमाथि हातहतियार, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराध, ठगीलगायतका कसुरमा ८ वटा मुद्दा पहिल्यैको छ ।

बद्री यादवमाथि कर्तव्य ज्यान, हातहतियार, सार्वजनिक अपराध, ज्यान मार्ने उद्योगलगायतमा १७ वटा, खगेश्वर गोहिवारमाथि अभद्र व्यवहार, अपराधिक उपद्रव, ठगीलगायतमा ३ वटा, जीवछ यादवमाथि कर्तव्य ज्यानको एउटा मुद्दा विगतमै चलेको देखिन्छ । अन्यमाथि पनि पहिल्यैको मुद्दा छ । तर, राजनीतिक संरक्षणका कारण राज्यको कानुनले उनीहरूलाई छुनै सकेको छैन ।

उनीहरु बेलाबेला नगरप्रमुख यादवलाई विभिन्न हिसाबले अवरोध गर्ने काम गरिरहन्छ । त्यसबापत ती राजनीतिक दलहरु उनीहरुलाई संरक्षण दिँदै आएका छन् । जसलाई अहिलेको विभिन्न दलको विज्ञप्तिबाजीले प्रष्ट पार्छ । यो घटनामा संलग्नलाई कारवाहीको माग गर्नुको साटो कांग्रेस, एमाले, जसपालगायतले निरन्तर रुपमा मुद्दा दर्ताको विपक्षमा विज्ञप्ति जारी गर्दै आएका छन् ।

नगरपालिकामा २८ गते भएको ढुंगुमुढाको फ्रन्ट लाइनमा थिए, खगेश्वर गोहिवार । उनी मिर्चैया नगरपालिकाको वडा ३ की वडाध्यक्ष पवित्री देवी यादवको श्रीमान् हुन् । श्रीमति वडाध्यक्ष भएपनि मनोमानी ढंगले उनैले सबै कामकाज गर्दै आएका छन् । नगरपालिकाले पहिलेको सचिवलाई गुनासोपछि सरुवा गरी नयाँ पठाएको सचिवलाई उनले हाजिर हुनै दिएनन् ।

जसका कारण वडाको कामकाज नै प्रभावित बन्यो । आफ्नो मनोमानी नस्वीकार्ने अन्य कर्मचारीलाई समेत बेलाबेला गाली अपमान गर्दै आएका उनी नयाँ सचिवले पनि मनोमानी चल्न नदिने देखेर हाजिर हुन नदिई विपक्षी दलहरुकहाँ पुगे । विपक्षी दलहरुलाई मसाला मिल्यो ।

अनि, उनीहरू आन्दोलनको नाममा प्रतिशोध साँध्न षड्यन्त्रपूर्वक आक्रमण गरेको मेयर यादवको भनाइ छ । यो घटनालाई यहाँका बुद्धिजीवीहरुले पनि राजनीतिको आवरणमा भइरहेको अपराधको संज्ञा दिएका छन् । यसमा संलग्नलाई कारवाही गरिनुपर्ने मागमा उनीहरू पनि एकमत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *