विराटनगर : विराटनगर–१५ भट्टी मोडमा प्रहरीको वान्टेन गाडी दुर्घटनामा परेर घाईते प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २ गते दुर्घटनापछि नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको सर्भाइकल इन्ज्यूरी (घाँटीको हड्डी फ्याक्चर) भएको थियो ।
नोबेलमा उपचार संभव नभएपछि उनलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाण्डौं रेफर गरिएको थियो । त्यहाँ भर्ना गरे लगतै काठमाण्डौं न्यूरो अस्पतालमा रेफर गरेर उपचारका क्रममा बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिएका छन्।
सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भएका मृतक थापा कोशी प्रदेश तालिम केन्द्रमा कार्यरत रहेका थिए । चाडपर्व लक्षित सुरक्षा परिचालनका क्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट थप मद्दतको लागि प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ५४ जनाको प्रहरी टोली खटिने क्रममा भट्टीमोडमा बालकलाई बचाउने हुँदा वान्टेन पल्टिएको थियो । विराटनगरको रानीस्थित २ नम्बर ढाटतर्फ जाने क्रममा बा १ ग २५५९ नम्बरको वान्टेन गाडी अन्यन्त्रीत भई दुर्घटना भएको थियो ।