सिरहा । राष्ट्रिय वाणिज्य बैंकले सिरहाको गोलबजारमा नयाँ शाखा कार्यालय समुद्घाटन गरेको छ । गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठले बुधबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।
बैंकको २७२औं शाखाका रूपमा गत जेठ ३१ गतेबाट नै गोलबजारमा कार्यालय स्थापना भएपनि उद्घाटन भने ५९औं वार्षिकोत्सबको अवसर पारेर गरिएको शाखा प्रबन्धक दीपनारायण मण्डलले बताए ।
शाखाको उद्घाटन गर्दै मेयर श्रेष्ठले सरकारी बैंकमध्येको राष्ट्रिय वाणिज्य बैंकले गोलबजारमा शाखा विस्तार गरेकोमा खुशी लागेको बताउँदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए ।
उनले व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरे । नगरपालिकाको समेत एउटा खाता यस शाखामा खोल्ने प्रतिबद्धता उनले गरे ।
गोलबजारमै शाखा सञ्चालनमा आएपछि स्थानीय व्यवसायीहरू पनि हर्षित भएका छन् । नागरिकको हित नै बैंकको हित हुने भन्दै ढुक्कसँग कारोबार गर्न बैंकले सबैलाई आग्रह गरेको छ ।
कार्यक्रममा मेयर श्रेष्ठसँगै वडा ६ का वडाध्यक्ष संजित लामा, ईलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्की, विभिन्न बैंक तथा संस्थाहरुका प्रतिनिधिलगायत स्थानीयहरूको समेत सहभागिता रहेको थियो ।