काठमाडौं । नेपाल प्रहरीले आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ३९ हजार २७२ जनामाथि कारबाही गरेको छ । यसैगरी सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २ सय ४२ जना पनि कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मापसेबाट गरिएको कारवाहीबाट कुल ३ करोड ९९ लाख ६९ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।
यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा दुर्घटना न्यूनिकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ ।प्रहरीले गलत प्रवृत्तिलाई निरूत्साहित र मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन विभिन्न समयमा विविध नीति लागू गरी सफल कार्यान्वयन गर्दै प्रभावकारी रूपमा काम गर्दै आएको दाबी गरेको छ ।
यस आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार ६२७ जना, कोशी प्रदेशमा २ हजार ५२४ जना, मधेश प्रदेशमा २ हजार २१ जना, बागमती प्रदेशमा १ हजार ९८ जना, गण्डकी प्रदेशमा ८ हजार ९२३ जना, लुम्बिनी प्रदेशमा २ हजार ७७३ जना, कर्णाली प्रदेशमा १ हजार २६४ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारवाहीमा परेका छन् । मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभावी हिँड्नेहरूको कारण पनि सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको छ ।